अछामको गाज्रा ७ की १५ वर्षीया रोशनी तिरुवा आइतबार बिहान घर छेवैको छाउगोठमा मृत फेला परिन् । मंसिर ४ गते अछामकै तिमिल्सेन गाउँकी २१ वर्षीया डम्बरा उपाध्यायको मृत्यु पनि यसरी नै भयो । एक महिनाको अवधिमा भएका यी दुई घटनाले छाउ बार्ने परिवारमा सन्नाटामात्र छाएको छैन, छाउपडी न्यूनीकरणमा क्रियाशील सरोकारवालाहरूको भूमिकामाथि नै प्रश्न उब्जाइदिएको छ । मृत्यु भएका घटना चर्चामा आए पनि छाउगोठ बस्दा महिलाले भोग्नुपरेका थुपै्र शारीरिक/मानसिक पीडाका खबर प्राय: सार्वजनिक हुँदैनन् । छाउगोठमा महिला हिंसाको सिकार बन्न बाध्य छन् ।गत वर्ष गाज्रासहित अछामका ३१ गाविसलाई तामझामका साथ छाउपडी मुक्त घोषणा गरियो । गत वर्ष नै पश्चिम दैलेखका ८ र सुर्खेतका ७ गाविस छाउपडी मुक्त घोषणा गरिए । तैपनि यस भेगका महिला छाउपडी बार्न बाध्य छन् । पश्चिम सुर्खेत, तरंगाका स्थानीय बिरु कठायत गैरसरकारी संस्थाले प्रगति देखाउन हतार–हतारमा छाउपडी मुक्त घोषणा गरेको बताउँछन् । ‘पोहोर साल छाउपडी मुक्त गाविस घोषणा गर्ने काम भयो । तर, अझै छाउगोठ बस्ने चलन हटेको छैन,’ उनी भन्छन्, ‘त्यति बेला भत्काएकाले प्रोजेक्ट सकिएपछि बनाउन थालेका छन् ।’ पश्चिम सुर्खेतका लगाम, बेतान, तरंगा, गुटु, बिजौरा, छाप्रेलगायत गाविसका अधिकांश घरधुरीमा अहिले पनि छाउगोठ छन् । युरोपियन युनियनको छाउपडी न्यूनीकरण परियोजनाले स्थानीय निकायसँगको समन्वयमा यी गाविसलाई छाउपडी मुक्त गरेको थियो । यति बेला कतिपयले स्वेच्छाले र कतिपयले जबरजस्ती भत्काए । सालकोटका सचिव तिलकराम अधिकारी छाउगोठ बस्ने चलनमा केही कमी आए पनि पूरै निर्मूल हुन नसकेको बताउँछन् । ‘पहिलेभन्दा धेरै कमी आएको छ । जति न्यून हुनुपथ्र्यो । त्यति छैन,’ उनी भन्छन्, ‘शिक्षित परिवार झन् बाधक बनेका छन् ।’
पश्चिम दैलेखको राकमकर्णाली घर भएकी नेपाल महिला संघको केन्द्रीय सदस्य दीपा बोहरा छाउपडी कुप्रथाका कारण ग्रामीण महिलाहरूले सभ्य समाज देख्न नसकेको बताउँछिन् । ‘आधुनिक समाजमा मानिस र चौपाया एकै गोठमा सुत्नु अनौठो र अकल्पनीय अवस्था हो,’ दीपा भन्छिन्, ‘सरकारकै कमजोरीका कारण छाउपडीको मुद्दा केही एजजीओलाई मागी खाने भाँडो भयो । सरकार सुदूरका महिलाका समस्याप्रति गम्भीर भएन ।’ उनका अनुसार पश्चिम दैलेखमा छाउपडी समस्या ज्यँुका त्युँ छ । जिल्लाका राकमकर्णाली, सिंगौडी, सिंहासैन, सात्तला, लयाटीविन्द्रासैनी, विशाला, तिलेपाटा, पिपलकोट, लकान्द्रलगायत गाविसका महिला अझै छाउपडी बस्न बाध्य छन् । महिनावारी र सुत्केरी (छाउ) भएका महिला घरदेखि अलग्गै बनाइएका गोठमा बस्ने प्रचलनलाई छाउपडी भनिन्छ । रजस्वलाको यो अवस्थालाई कतै पर सरेकी, पाखा सरेकी, छुइनेरी, छाउ भएकी भनिन्छ । यस्ता छाउगोठ स–साना र हावा–प्रकाश नछिर्ने खालका हुन्छन् । यस अवधिमा हुने खाने परिवारले बेग्लै सानो घर, नहुनेले चौयापासँगै गोठमा, गोठसमेत नभएकाले खुला आकाशमुनि वा ओडारमा सुतेर रात कटाउने गर्छन् । आमा, छोरी र बुहारी गर्दै छाउपडीमा बस्ने क्रम दैनिकजसो चलिरहन्छ । छाउपडी बस्दा दूध, दहीजस्ता पोषणयुक्त खाना नदिने चलन छ । स्वास्थ्यकर्मीका अनुसार यसले गर्दा आमा तथा बच्चामा कुपोषण र निमोनियाको असर देखिने गर्छ । छाउपडी बस्दा चिसोले कठ्यांग्रिने, जिउ सुनिने, सर्पले डस्ने समस्याले महिला पीडित बन्न पुगेका छन् । त्यस्तै, एचआईभी संक्रमणले थलिएका पनि छाउगोठमै बस्नुपर्ने बाध्यता छ । मुख्य जड अन्धविश्वास महिलाहरू देवी–देउता र दुर्घटनाको भयले छाउपडी मान्न बाध्य भएको तर्क गर्छन् । अछाम नाडाकी एक शिक्षिका ‘छुई बार्दा केही बिग्रिन्न । परम्पराविरोधी तिमीहरू को हौ ?’ भनेर उल्टै हप्काउने गरेको तीतो अनुभव सुनाउँछिन् । उनका अनुसार अरू कुनै रोगले बिरामी भए, पशु–चौपाया नष्ट भए छुई–छाई भएको भन्दै धामीझाँक्रीले छुई बार्न सल्लाह दिने गर्छन् । यस्तै अनुभव संगालेकी छन्, पश्चिम सुर्खेतकी अभियन्ता वसन्ती विकले । भन्छिन्, ‘केही नराम्रो भैहाले धामीझाँक्रीले छुई बिग्रियो भन्छन् । छाउ बार्नु त परम्पराजस्तै भइसक्यो ।’ पेट दुखेमा, ज्वरो आएमा मात्र नभई पैतालामा सामान्य ठेस लाग्दासमेत स्थानीय झाँक्रीले छुई बिग्रिएको भन्दै राम्ररी बार्न सल्लाह दिन्छन् । छाउपडी अन्त्य गर्नु फलामको च्युरा चपाउनुसरह भएको उनीहरूको भोगाइ छ । ‘यसविरुद्ध बोल्नै गाह्रो छ । सारा समाजले पागल गराउँछ,’ छाउ बारिरहेकी ती शिक्षिका भन्छिन्, ‘शिक्षिका भएर के गर्नु नबारी नहुने बाध्यता हुन्छ । सासू–ससुराले मान्नुहुन्न ।’ आवाज संस्था सुर्खेतकी कार्यकारी निर्देशक पवित्रा शाहीले छाउपडी कुप्रथा अन्त्य हुन नसक्नुमा बुढापाका र धामीझाँक्री नै मुख्य जिम्मेवार रहेको बताउँछिन् । धामीझाँक्रीको विश्वास मान्ने चलन जबसम्म रहिरहन्छ तबसम्म शिक्षक, बुद्धिजीवी, स्वास्थ्यकर्मी, सामाजिक अगुवाले छाउपडीको घेरामा बस्नुपर्ने बाध्यता कायमै रहने उनको भनाइ छ । ‘यसलाई न्यूनीकरण गर्न शिक्षक र धामीझाँक्रीको मनस्थिति बदल्न जरुरी छ,’ शाही भन्छिन् । छाउगोठमा महिलाहरू मृत्युको सिकार बन्नु अन्धविश्वास नै प्रमुख जड रहेको अगुवा बताउँछन् । होचा–होचा छाउगोठका कारण निस्सासिने, चिसोले कठ्यांग्रिनेजस्ता समस्याले महिला मृत्युको सिकार बन्ने गरेका हुन् । छाउगोठमा महिला बलात्कारको पीडा भोग्नुपरेका थुपै्र उदाहरण पनि छन् । कानुनमा के छ ? पश्चिम पहाडी भेगका महिलाले पुर्खौंदेखि भोग्दै आएको मुख्य समस्या हो, छाउपडी । यद्यपि, छाउपडी एक सामाजिक कुरीति भए पनि यससम्बन्धी बेग्लै कानुन छैन । सरकारले सर्वोच्च अदालतको आदेशमा ०६३ वैशाख २६ गते कुरीति घोषणा गर्यो । छाउपडी उन्मूलन निर्देशिका पनि बनायो । बजेट अभावले निर्देशिका कार्यान्वयन हुन सकेन । निर्देशिकामा जिविस संयोजक, महिला कार्यालय सदस्य सचिव र प्रशासन, शिक्षा, स्वास्थ्य, प्रहरी, महिला तथा बाल समूह र सरोकारवालाको प्रतिनिधित्वमा कार्यान्वयन समिति गठन गर्नुपर्ने प्रावधान छ । ‘सरकारले निर्देशिकामात्र ल्यायो । कार्यक्रम ल्याएन,’ महिला संघकी केन्द्रीय सदस्य दीपा बोहोरा भन्छिन्, ‘कसरी हुन्छ न्यूनीकरण ?’
नगरभित्रै छन् सयौं
बझाङ (कास)– जिल्लाका विभिन्न गाविसलाई छाउगोठ मुक्त घोषणा गर्न तँछाममछाड छ । तर, सदरमुकामभित्रै सयौंको संख्यामा छाउगोठ छन् । महिनावारी भएका बेला महिलामाथि गरिने विभेद जस्ताको तस्तै छ । जयपृथ्वी ५ धामिलेक गाउँमा ९५ परिवारको बसोबास छ । त्यो गाउँमा मात्रै २५ छाउगोठ रहेको स्थानीय सिद्धराज जोशीले बताए । सदरमुकाम चैनपुर रहेको वडा ४ मा मात्रै २० भन्दा बढी छाउगोठ छन् । ‘सदरमुकाम र नगरपालिकामै छाउ (महिनावारी) हुँदा गरिने छुवाछूतमा कमी आउन सकेको छैन,’ दलित महिला संघकी अध्यक्ष आशा विक भन्छिन्, ‘छाउपडी गोठ मुक्त गर्न दुर्गम गाउँमा ठूलो रकम लगानी भए पनि उपलब्धि शून्य छ ।’ जयपृथ्वी नगरपालिकाभित्र मात्र करिब ५ सय संख्यामा छाउगोठ रहेको दाबी गर्दै उनले भनिन्, ‘दुर्गममा खासै अनुगमन नहुने भएका कारण छाउपडीको बजेट त्यतातिर दुरुपयोग हुँदै छ । सदरमुकामको अवस्था लाजमर्दाे छ ।’ यस्तो अवस्था अन्त्य गर्नका लागि सदरमुकामबाटै अभियानको थालनी गर्नुपर्ने उनको धारणा छ । छाउपडी हुँदा गरिने छुवाछूतको प्रकृति पनि नगरपालिकामा बढी निर्मम छ । गाउँतिर ५ दिनसम्म छाउ बार्नुपर्ने चलन भए पनि नगरपालिकाभित्रका अधिकांश बस्तीमा ७ दिनसम्म गोठमा बस्नुपर्ने, पोसिलो खाना खान नपाइने र विभिन्न खालका विभेद भोग्नु परिरहेको स्थानीय सत्यदेवी जोशीले बताइन् । घरभित्र बस्ने रहर भए पनि आफूहरूले समाज र बूढापाकाको डरले छाउगोठमा नै बस्नुपर्ने बाध्यता रहेको यहाँका महिलाको गुनासो छ । नगरपालिकाभित्रै छाउपडीको अवस्था दयनीय रहेको स्विकार्दै महिला विकास अधिकृत लीला घलेले यसका लागि काम गर्ने बताइन् । ‘अब नगरपालिकालाई केन्द्रित गरेर काम गर्ने योजना बनाउँछांै,’ उनले भनिन् । नगरपालिकाभित्र पनि मन्दिर नजिकका गाउँ र ब्राह्मण समुदायका बस्तीमा छाउपडी चर्को छ । आगामी आर्थिक वर्षका लागि जयपृथ्वी नगरपालिकासँग सहकार्य गर्ने र यहाँको अवस्थामा सुधारका लागि पहल चाल्ने उनको भनाइ छ । छाउगोठमा बस्दा महिलाले विभिन्न जोखिमको सामना गर्नु परिरहेको छ । गत वर्ष मात्र एकजना महिलाको छाउगोठमा सर्पले डसेर ज्यान गएको थियो ।
|