पाँचतले मन्दिरमा चिनियाँ टोली ‘पाँचतले मन्दिर नेपालकै उत्कृष्ट नमुना’
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभाग प्रमुख लिउ छिपाओले पाँचतले मन्दिर नेपालकै उत्कृष्ट नमुना भएको बताएका छन् ।
सोमबार बिहान विश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर क्षेत्रका क्षतिग्रस्त सम्पदाको अवलोकनका क्रममा लिउले ३ सय वर्ष पुरानो ऐतिहासिक न्यातपोल (पाँचतले मन्दिर) लाई उत्कृष्ट नमुनाको संज्ञा दिएका हुन् । गत वर्षको भूकम्पबाट यो मन्दिर जोगिएको थियो ।
परम्परागत आर्किटेक इन्जिनियरिङ शैलीबाट निर्मित पाँचतले मन्दिरले राष्ट्रकै गौरव राखेको लिउको भनाइ थियो । भूकम्पले क्षतिग्रस्त अन्य सम्पदा पुनर्निर्माणमा परम्परागत शैली अपनाउन लिउले सुझाव दिएको सांसद प्रेम सुवालले बताए ।
‘भूकम्पबाट क्षतिग्रस्त सम्पदालाई उही स्वरूपमा परम्परागत निर्माण सामग्रीको प्रयोगबाटै बनाउनुपर्नेमा उहाँको जोड छ,’ सुवालले भने । लिउ भक्तपुरका सम्पदामा कुँदिएका टुँडालका कलात्मक आकृतिबाट प्रभावित बने । उनले पाँचतले मन्दिरमा अपनाएको निर्माणको सिको अरू संरचनामा पनि अपनाउनुपर्नेमा जोड दिए । लिउले पाँचतले मन्दिरलाई पृष्ठभूमिमा राखेर तस्बिरसमेत खिचाए ।
लिउलगायतको चिनियाँ टोलीले भूकम्पबाट क्षतिग्रस्त भई पुनर्निर्माणको चरणमा रहेका वत्सला मन्दिर, राष्ट्रिय कला संग्रहालय, पचपन्न झयाले दरबार, स्वर्ण ढोका, मूलचोक, सुनधारा (नागपोखरी), तवसत्तल, केदारनाथ मन्दिर, पशुपति, पाँचतले मन्दिरको अवलोकन गरेको थियो ।
१८ सदस्यीय चिनियाँ टोलीलाई सांसद सुवाल, प्रजिअ तेजप्रसाद पौडेल, एसपी किरण राणा, नगरपालिकाका कार्यकारी अधिकृत रोहितराज पोखरेल, पर्यटन अधिकृत गौतम लासिवा, पर्यटन सूचना केन्द्र प्रमुख दामोदर सुवालले भादगाउँले टोपीसमेत लगाइदिएका थिए ।
लिउले युनेस्कोद्वारा मान्यता प्राप्त सम्पदाको नियमित मर्मत सम्भार गर्न आवश्यक रहेको बताएका थिए । लिउलाई नगरपालिकाका तर्फबाट कलात्मक मयूर झयाल उपहार प्रदान गरिएको थियो ।
See more at:-http://shivanewsonline.blogspot.com
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home