अनुमतिपत्र नआउँदा काम ठप्प
मेची पुल निर्माणको काम फेरि रोकिएको छ । माटो परीक्षणले दिएको गलत रिपोर्टका कारण १७ मध्ये दुईवटा पिल्लर माटोमुनि धसाउने क्रममा बांगिएका थिए । सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियरले गत वर्ष अनुगमन गरी री–डिजाइन गर्नुपर्ने निष्कर्ष निकालेका थिए ।
री–डिजाइन पनि भयो तर त्यो सडक विभागमा थन्किएर बसेको छ । सडक विभागबाट री–डिजाइनसहितको आधिकारिक परमिटपत्र नआउँदा पुल निर्माण अलपत्र छ । निर्माण कम्पनी अनक एन्ड सूर्य कन्स्ट्रक्सन जेभीका फिल्ड इन्जिनियर सुरेन्द्र खतिवडाले भने, ‘सडक विभागले री–डिजाइनसहितको इजाजतपत्र नपठाइदिँदा काम अघि बढ्न पाएको छैन ।’ उनले दुईवटा पिल्लरमा क्याप र पायरको निर्माण अधुरो रहेको बताए । ‘करिब ९० प्रतिशत काम सकिएको छ’, खतिवडाले भने, ‘इजाजतपत्र आए यसै वर्ष काम सम्पन्न हुने थियो ।’
गत असोज १७ गते हुलाकी राजमार्ग अन्तर्गतको चारआली–भद्रपुर–केचना सडकको शिलान्यासका क्रममा आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीलाई निर्माण कम्पनीले री–डिजाइनको पत्र नआएका कारण काम अघि बढ्न नसकेको बताएको थियो । त्यस क्रममा मन्त्री लेखकले चाँडै री–डिजाइनको पत्र पठाइदिन सडक विभागलाई अनुरोध गर्ने आश्वासन दिएका थिए । ‘तर, री–डिजाइनको पत्र अहिलेसम्म सडक विभागमै थन्किएर बसेको छ’, इन्जिनियर खतिवडाले भने । हुलाकी सडक आयोजनाका इटहरी प्रमुख शैलेन्द्र त्रिपाठीले मेची पुलको री–डिजाइन रिभ्युका लागि पुल्चोक इन्जिनियरिङ कलेजका एक्स्पर्टहरूकहाँ पठाएको दाबी गरेका छन् । त्रिपाठीले पुल निर्माणमा गम्भीर त्रुटी भएकाले यसको रिभ्यु पनि गम्भीर ढंगबाट भइरहेको बताए । ‘क्रिटिकल काम हो, केही समय त लाग्छ नै’, त्रिपाठीले भने, ‘हचुवाका भरमा परमिट दिन मिल्दैन ।’तत्कालीन उपप्रधान एवं भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गरेका थिए । निर्माण कम्पनीले तीन वर्षभित्र पुलबाट आवातजावत खुला गर्ने दाबी गरेको थियो । ४८ वटा स्ल्याबको काम सकिएर मान्छे हिँड्ने ठाउँमा ढलाइ भइसकेको छ । १६ वटा स्ल्याबको काम अझै बाँकी छ । ‘स्ल्याबको गडर बनाइसकिएको छ’, खतिवडाले भने, ‘क्रेनबाट उठाएर राख्न मात्रै बाँकी छ ।’ ४४ करोडको लागतमा निर्माण प्रारम्भ भएको नेपाल–भारत जोड्ने यो पुलको कुल लागतसमेत बढेको छ । पुल ५ सय ६० मिटर लामो र ११ मिटर चौडा छ । भद्रपुर लगायत दक्षिणी झापावासीको ७ दशकदेखिको सपना हो मेची पुल । ‘यो पुल भद्रपुर क्षेत्रको आर्थिक विकासको मेरुदण्ड हो’, व्यवसायी राजेन्द्र घिमिरेले भने, ‘पुल बनेपछि भारतको बंगाल र विहार राज्यका साथै बंगलादेशसँगको व्यापारमा टेवा पुग्ने छ ।’ |
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home