Tuesday, 20 December 2016

पाइप बिछयाउने काम ३ दिनदेखि ठप्प मेलम्ची खानेपानी

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत खुमलटार क्षेत्रमा पाइप बिछयाउने काम ३ दिनदेखि ठप्प भएको छ । कामदारहरूबीच शुक्रबार भएको झगडा सुल्झिन नसक्दा काम रोकिएको हो । भारतीय कम्पनी जेडब्लुआईएल र नेपाली कम्पनी शर्मा एन्ड शर्माका कामदारबीच विवाद उत्पन्न भएको थियो ।
राति ओभरटाइम बापत आफूहरूलाई दिइँदै आएको रकम अपुग भएकाले बढाउनुपर्ने मागका विषयमा छलफल हुँदा कामदार र कम्पनी समर्थक डोजर चालकबीच झगडा भएको थियो । विवाद अझै साम्य भएको छैन । जेडब्लुआईएल/शर्मा एन्ड शर्मा कम्पनी जेभी खुमलटार आयोजनाका प्रबन्धक मुकुन्द शर्माले तलब, भत्ताको विषयमा नभई कामदारबीच व्यक्तिगत कारणले विवाद हुँदा काम रोकिएको बताए । प्रबन्धक शर्माले समस्या समाधान भइसकेको दाबीसमेत गरेका छन् । ‘कामदारबीच झगडा मिलाइसकेका छौं,’ उनले भने, ‘कामदारलाई राम्रै तलब, भत्ता उपलब्ध गराउँदै आएका छौं ।’
खानेपानीका पाइप ३ दिनदेखि सडकमा अलपत्र छाडदा खुमलटार–चापागाउँ सडकको यातायात सेवा अस्तव्यस्त बनेको छ । जाम अत्यधिक हुँदा एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधनको आवतजावतमा समस्या भएको छ । पाइप बिछयाउन सडकमा खनेको खाल्डो र माटोले गर्दा वरिपरिको वातावरण धुलाम्मे बनेको छ । साङपाङचोकमा किराना पसल गर्ने रीता राईले दिनभर मास्क लगाएर बस्नुपर्ने अवस्था आएको बताइन् । ‘दिनभरको धूलोले बेलुका टाउको दुख्ने गरेको छ,’ उनले भनिन् ।
खुमलटार सेकुवा मोड सडकमा पानीको पाइप राम्रोसँग नबिछयाउँदा यस क्षेत्रको ढल निकास बन्द भएको स्थानीयवासीको आरोप छ । स्थानीय एकता समाज टोल सुधार समिति अध्यक्ष वीरेन्द्र श्रेष्ठले इनार र खानेपानीमा ढल मिसिँदा खानेपानीसमेत प्रभावित बनेको बताए । ‘यसले करिब सय घरधुरी मर्कामा परेका छन्,’ उनले भने, ‘वातावरण पनि दुर्गन्धित बनेको छ ।’ समिति अध्यक्ष श्रेष्ठले विराट र जेडब्लुआईएल/शर्मा एन्ड शर्मा दुवै कम्पनीले आफ्ना कारण दुर्गन्ध नफैलिएको र ढल निकास नभएको दाबी गर्दै पन्छिएको बताए ।


Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home