Tuesday, 20 December 2016

विधेयक रोकेकामा कानुनमन्त्री असन्तुष्ट

राज्यव्यवस्था समितिमा निर्वाचनसम्बद्ध तीनवटा विधेयक रोकिएकोप्रति कानुनमन्त्री अजयशंकर नायकले असन्तोष प्रकट गरेका छन् । आफूले त्यसबारे समिति सभापति दिलबहादुर घर्तीसँग भेटेरै कुराकानी गर्दा पनि विधेयकमाथि छलफल नभएको नायकले जनाए । ‘विधेयकमाथि छलफल रोकिँदा चुनावी तयारीमा ढिलाइ भएको छ । मैले यसबारे सभापतिज्यूसँग भनिसकें,’ उनले सोमबार कान्तिपुरसँग भने ।
आगामी निर्वाचनसम्बद्ध तीनवटा कानुनलाई मन्त्रालयले पहिले नै तयार गरी विधेयक संसद्मा दर्ता गराएको थियो । ती विधेयक विस्तृत छलफलका लागि समितिमा दुई महिनाअघि नै पुगे पनि छलफल भने हुन सकेको छैन । ती विधेयकहरूमा मतदाता नामावलीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक छन् । समितिले तिनलाई अघि नबढाउँदा संसदको पूर्ण बैठकबाट पारित हुन नसकेको हो । ‘हामीले सम्बद्ध सबै पक्षसँग छलफल गरी विधेयक तयार पारेका हौं, जति चाँडो कानुन तयार हुन्छ, त्यति चुनावी तयारी बढ्छ,’ मन्त्री नायकले समितिले विधेयक अडाएकोप्रति असन्तोष प्रकट गर्दै भने । 
समितिमा भने ती विधेयकलाई ३ वटा उपसमिति बनाएर छलफल गर्ने कि एक मात्र भन्ने सामान्य विवाद छ । ‘उपसमितिको विवाद कुनै ठूलो होइन । समय लम्बाउन खोजिएको मात्र हो,’ समितिका एक सदस्यले कान्तिपुरसँग भने । उनले सभापतिले बैठक नै नबोलाएको दाबी पनि गरे ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home