Tuesday, 20 December 2016

भारु साट्न १० दिन समय चाहिने

नेपाल सरकारले आफ्नो देशमा रहेका ५०० र १००० दरका पुराना भारु नोट साट्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी भारतलाई गराएको छ । भारत सरकारले पुराना नोट साट्न उपलब्ध गराएको समयसीमा सकिन अब १० दिनमात्र बाँकी छ ।
भारतमा ५०० र १००० को नोट रद्द गरिएपछि नेपालीले भोग्नुपरेका समस्याका सम्बन्धमा एभरेस्ट बैंक भारत शाखाले आयोजना गरेको अन्तक्र्रियामा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारु नोट साट्न १० दिनको समय लाग्ने जानकारी गराएका हुन् । ‘हामीले भारतीय पक्षलाई पुराना नोट साट्नका लागि सबै प्रबन्ध गर्न कम्तीमा १० दिनको समय आवश्यक पर्ने जानकारी गराएका छौं’ उपाध्यायले भने । 
नोट साट्ने प्रबन्धका लागि राजनितिकलगायत सबै तहमा कुराकानी भइरहेको उपाध्यायले जानकारी दिए । उनले नोट साट्ने विषय टुंगो लगाएपछि दूरदराजमा रहेका नेपालीलाई जानकारी गराउन प्रचारप्रसार आवश्यक पर्ने र पर्याप्त समय चाहिने बताए । तर भारत सरकारले आगामी डिसेम्बर ३० को समयसीमा बढाउन नसकिने बताएको छ । उनले भारतमा रहेका नेपालीले भोगिरहेका समस्या समाधान गर्ने विषयमा समेत कुराकानी भइरहेको बताए । 
नेपालमा रहेका भारु साट्ने विषयमा कुराकानी भइरहे पनि भारतले अहिलेसम्म कुनै निर्णय लिएको छैन । कार्यक्रममा विभिन्न संगठनका प्रतिनिधिहरूले नेपालीहरू विभिन्न समस्या भोगिरहे पनि त्यसलाई समाधान गर्न गम्भीर पहल नभएको बताएका थिए । प्रवासी नेपाली संघका अध्यक्ष लोकनाथ भण्डारीले सरकार तथा दूतावासले नेपालीले भोगेका समस्या समाधान गर्न ठोस पहल नगरेको बताए । 


http://shivanewsonline.blogspot.com

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home