Tuesday, 20 December 2016

आफन्तलाई जागिर खुवाउन दरबन्दी ‘कब्जा’

जिल्लाका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी अभाव छ । दरबन्दी पाएका विद्यालयले पनि शिक्षक नियुक्त नगरी डेढ वर्षयता पढाइ अल्झाइरहेका छन् । प्रधानाध्यापक, व्यवस्थापन समितिले आफन्तलाई जागिर खुवाउन दरबन्दी ओगटेका हुन् । उनीहरू स्नातकोत्तर अध्ययनरतको परीक्षाफल पर्खिरहेका छन् । यसले नियुक्तिमा १८ महिना ढिलाइ भइसकेको छ । 
नियुक्ति अल्झाइनुमा नेताको दबाब, आर्थिक प्रलोभन पनि कारण पाइएको छ । सरस्वती मावि, सीमाले ऐच्छिक विषयको १, मान्नेढुंगा मावि टालेगाउँले ऐच्छिक विषयका २, महेन्द्र मावि कोर्ताङले नेपाली र शिवपुरी मावि गर्खाकोटले ऐच्छिक विषयका २ दरबन्दीमा शिक्षक नियुक्ति रोकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । ती विद्यालयमा अंग्रेजी, नेपाली, गणित, जनसंख्या, शिक्षालगायत विषय पठनपाठन हुन सकेको छैन । १५ महिनाअघि नै भइसक्नुपर्ने शिक्षक नियुक्ति रोकिँदा पढाइमा बाधा पुगेको कार्यालयका शाखा अधिकृत मानबहादुर गिरीले बताए । उनका अनुसार ती विद्यालयलाई कार्यालयले डेढ वर्षअघि नै नियुक्तिका लागि अनुमति दिइसकेको छ । ‘सम्बन्धित विद्यालयलाई २०७२ मंसिर १५ गतेभित्र शिक्षक नियुक्त गर्ने गरी अनुमति दिइएको हो,’ उनले भने । आफूअनुकूलको व्यक्तिलाई शिक्षक बनाउने होडबाजीका कारण विज्ञापन प्रक्रिया नै रोकिराखेको गिरीले जानकारी दिए । ‘मावि सीमा, टालेगाउँ र कोर्ताङले पहिलोपटक दरबन्दी पाएका हुन्, त्यही पनि नियुक्तिमा आलटाल गरिरहेका छन्,’ उनले भने, ‘दरबन्दी नपाएका विद्यालयमा खोसाखोस छ, पाएकाले चाहिँ त्यत्तिकै होल्ड गरिरहेका छन् ।’ शैक्षिक गुणस्तर कायम गर्न सक्ने दक्ष शिक्षक नियुक्तिभन्दा पनि आफ्नालाई जागिर खुवाउन राजनीतिक खिचातानी छ । प्रअ र व्यवस्थापन समिति अध्यक्षबीच अर्को होडबाजी देखिन्छ । आर्थिक प्रलोभनमा नियुक्ति रोक्ने पनि छन् । कोर्ताङले मावि तहको दरबन्दीमा कोर्ताङ २ का रेसमबहादुर शाहीलाई नियुक्त गर्ने तयारी गरेको खुलेको छ । शाही स्नातकोत्तर तहको परीक्षाफल पर्खेर बसेका छन् । 
मावि टालेगाउँले जनसंख्या विषयमा स्थानीय सुरेन्द्रबहादुर सिंहलाई जागिर खुवाउने योजनामा दरबन्दी अडाइरहेको छ । सिंह पनि स्नातकोत्तर परीक्षा दिएर बसेका हुन् । सीमास्थित विद्यालयले अधिक विद्यार्थी रहेको स्वास्थ्य विषयमै दरबन्दी खाली राखिरहेको छ । आफन्तलाई नियुक्त गर्ने होडबाजीले विवाद लम्बिँदा विद्यार्थी मारमा छन् । भानुभक्त मावि लहँले अनुकूलको व्यक्ति कुरेको १ वर्षपछि बल्ल अंग्रेजी शिक्षक नियुक्त गरेको छ । अनुकूलको व्यक्ति नभेटिएका कारण विज्ञापनमै ढिलाइ गरेको भैरव मावि मजकोटका अध्यक्ष जगतबहादुर शाहीले जानकारी दिए । शिक्षा कार्यालयले शिक्षक नियुक्तिमा ढिलाइ गर्ने विद्यालयको दरबन्दी कट्टा गरी अन्य विद्यालयलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । 
मजकोटसहित जिल्लाभर ३० मावि दरबन्दीविहीन छन् । मावि, निमावि र प्रावि तहमा गरी ७ सय शिक्षक दरबन्दी अपुग रहेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए । गत आवमा मन्त्रालयले यहाँका माविका लागि २५ दरबन्दी र ५१ शिक्षकका लागि तलब अनुदान उपलब्ध गराएको उनले जानकारी दिए । ‘शिक्षक नियुक्ति नभएका विद्यालयमा तलब तथा अनुदान रकम निकास नभई फिर्ता जाने गरेको छ,’ उनले भने, ‘नियुक्तिका लागि बारम्बार ताकेता गरे पनि प्रक्रिया अघि बढाएका छैनन्, अब अटेरी विद्यालयलाई अन्तिमपटक ताकेता गरिनेछ ।’ 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home