‘कोदारी नाका छिट्टै खुल्छ’ चिनियाँ राष्ट्रपतिको भ्रमण प्रतीक्षामा छौं– प्रधानमन्त्री दाहाल
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा प्रचार विभागका प्रमुख लिउ छिपाओले भूकम्पपछि बन्द कोदारी राजमार्ग जतिसक्दो छिटो सञ्चालन गरेर नेपाल–चीन सम्बन्धको आधारलाई संरक्षण गर्ने बताएका छन् । उनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी कोदारी नाका दिगो सञ्चालन हुने गरी पुनर्निर्माण आरम्भ गर्न आफ्नो सरकार गम्भीर रूपमा लागिपरेको पनि जानकारी दिए । उनले नेपालको पूर्वाधार विकासमा चीनले निरन्तर सहयोग गर्दै जाने बताए ।लिउले नेपाल र चीन जोड्ने नाकाबारे चीन अत्यन्तै सकारात्मक रहेको र क्रमैसँग जतिसक्दो धेरै नाका खोलेर काम अघि बढाउनुपर्नेमा जोड दिए । ‘आपसी समझदारीमा नेपालको विकासका लागि काम गर्न चीन तयार रहेको जानकारी नेता लिउले दिएका छन्,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले कान्तिपुरसँग भने, ‘नेपालको जस्तोसुकै विकास प्रक्रियामा पनि सहयोग गर्न चीन तयार छ । नेपाल चीनको एक विश्वासिलो र भरपर्दो छिमेकी हो । नेपालले अँगाल्दै आएको एक चीन नीतिप्रति चिनियाँ सरकार आभारी छ ।’
लिउले प्रधानमन्त्रीसित नेपाल र चीनबीच सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्धबारे छलफल गर्दै स्थायी शान्ति र विकासमा जोड दिन आग्रह गरे । आइतबार बिहान चार्टर फ्लाइटमा काठमाडौं उत्रेका उनले त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेका थिए । उनको सम्मानमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले रात्रिभोजसमेत दिएका थिए ।
उनले सोमबार प्रधानमन्त्रीसँग भेटघाट र चिनियाँ महोत्सव उद्घाटन गरे पनि स्वास्थ्य अवस्था राम्रो नभएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग पूर्वनिधारित भेटवार्ता रद्द गरे । चिनियाँ दूतावासका अधिकारीले भने, ‘दुवै भेट यसअघि नै तय भइसकेको भए पनि लिउ नेपाल उत्रेदेखि नै अस्वस्थ रहेकाले भेटवार्ता स्थगित गरेका हौं ।’ उनको टोलीमा रहेका अन्तर्राष्ट्रिय विभागका चिनियाँ उपविदेश मन्त्री क्व यचोउ लगायतले देउवा र ओलीसँग उनीहरूका निवासमा दुईपक्षीय भेटवार्ता गरे ।
भेटमा ओलीले आफू प्रधानमन्त्री रहँदा चीनसँग अघि बढाएको सन्धि तथा सम्झौता कार्यान्वयन तहमा ल्याउन चीनले पनि नेपालसँग उत्तिकै सहकार्य गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए । चिनियाँ पक्षले पनि त्यो सम्झौता कार्यान्वयन गर्दै नेपाल–चीन सम्बन्धलाई थप उचाइमा लैजान आफूहरू तयार रहेको बताएको थियो । त्यस्तै देउवाले पनि चीन नेपालको एक अभिन्न छिमेकी रहेको र एक चीन नीतिमै अडेर आफूहरू अघि बढेको समेत स्पष्ट पार्दै पूर्वाधार विकासमा चीनको सहयोग अपरिहार्य रहेको बताए ।
लिउले सोमबार बिहान भक्तपुर पुगेर भूकम्पपछिको पुनर्निर्माणको अवस्था अवलोकन गरेका थिए । त्यसलगत्तै उनी महोत्सव उद्घाटनमा व्यस्त रहे । त्यसपछि आराम गरेर उनले प्रधानमन्त्री दाहालसँग अपराहन ३ बजे करिब ४५ मिनेट भेट वार्ता गरे । लिउ र टोलीका अन्य सदस्यले गौतम बुद्धको जन्म भएको मुलुक नेपाल दिगो शान्तिमा अघि बढिरहेको भन्दै दिगो शान्ति र विकासमा जोड दिन आग्रह गरेका छन् । नेपालमा राजनीतिक दलहरू मिलेर शान्ति कायम भएको जनाउँदै आफ्नो आन्तरिक मामिला सल्टाउन आफंै सक्षम रहेको समेत चिनियाँ अधिकारीले बताएका छन् ।
नेपाल र चीनबीचको पुरानो सम्बन्धबारे चर्चा गर्दै नेपालले अख्तियार गर्दै आएको एक चीन नीतिका लागि राजनीतिक दलहरूलाई समेत धन्यवाद दिँदै त्यसकै आधारमा सम्बन्ध थप दरिलो हुँदै जाने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका सबै राजनीतिक दलहरू बीचको दुईपक्षीय सम्बन्ध थप सुदृढ र बलियो बनाउँदै अघि बढ्ने विषयमा समेत छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीले नेपाल र चीनबीचको राजनीतिक, आर्थिक, सामाजिक सम्बन्धलाई थप सुदृढ गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीले नेपाल चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताएका थिए । चिनियाँ टोली मंगलबार बिहानै स्वदेश फर्कनेछ ।
चिनियाँ टोलीले प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई चीन भ्रमण गर्न निम्तो दिएको छ । तीनै जनाले उपयुक्त समयमा चीन भ्रमणमा गर्ने आश्वासन दिएका छन् ।
सातौं चीन महोत्सव आरम्भ
सातौं चीन महोत्सव तथा दोस्रो काठमाडौं सांस्कृतिक फोरम सोमबार काठमाडौंमा सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा चिनियाँ कम्युनिस्ट पार्टीका सचिवालय सदस्य लिउ छिपाओले महोत्सव उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने महोत्सवमा दक्षिण एसियाली मुलुकका प्रतिनिधिसमेत सहभागी छन् । नेपाल र चीनको संयुक्त आयोजना रहेको उक्त महोत्सव वल्र्ड कल्चरनेटले संयोजन गरको हो । |
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home