Tuesday, 20 December 2016

दिनहुँ रुवाबासी चल्छ बसपार्कमा तिहारपछि मात्र बझाङका करिब १५ देखि २० हजार स्थानीय रोजगारीका लागि भारत गएको अनुमान

चाउरी परेको मुहार । मैलो मजेत्रो । आँसु थाम्न खोज्छिन् । थामिँदैन । भक्कानो फुटाएर रुन थाल्छिन् । चाउरी परेका अनुहारका डोब आँसुले भरिन्छन् । गत शनिबार रिलु गाविसकी ६५ वर्षीया चाम्ली जेठारा यसरी बझाङ बसपार्कमा भक्कानिएर रोइरहेकी थिइन् । 
उनी करिब ६ घण्टा हिँडेर आएकी हुन् । साथमा थिए, बुहारी र नातिनातिना । गाउँकै एक आफन्तका साथमा उनीहरूलाई भारत पुर्‍याउन बसपार्क आउँदा उनी आँसु रोक्न सकिरहेकी थिइनन् । गत वर्ष छोरा भारतको बैंग्लोर गए । बुहारीलाई पनि नातिनातिनासहित उतै बोलाए । अब चाम्ली घरमा एक्ली भएकी छन् । ‘मर्ने बेला यिनका मुख हेर्न पाइने हो कि हैन भनेर चिन्ता लागिरहन्छ,’ आँसु पुछ्दै उनले भनिन्, ‘कुन दैवले गरिब बनायो होला । मर्ने बेला पनि छोराछोरीसँग छुट्टिनुपर्ने अवस्था आयो ।’प्रत्येक दिन यस्ता दृश्य दोहोरिरहन्छन् । भर्खरै विवाह भएका युवती पतिसँगको वियोगमा आँसु खसालिरहेका हुन्छन् । आमाबुबासँग पहिलो पटक मुग्लानिने स्कुले बालबालिका त्यस्तै कोकोहोलो मच्चाइरहेका देखिन्छन् । यहाँबाट सीमावर्ती कञ्चनपुरसम्म पुग्ने महाकालीका दुई र बाह्रसिंगा यातायात समितिको अर्को बसमा भारत जानेकै भीड हुन्छ ।
‘यस्तो रुवावासी सधैं हुन्छ,’ महाकाली यातायातका काउन्टर इन्चार्ज डम्मर खड्काले भने, ‘शनिबार मात्रै हाम्रो समितिको बसमा ७२ जना गए । सुदूरपश्चिम र बाह्रसिंगाको यातायातमा गरी २ सय बढी यात्रु थिए, ती सबै पारि जाने नै हुन् ।’ 
तिहारपछि मात्र करिब १५ देखि २० हजार स्थानीय भारत गएको अनुमान बाह्रसिंगा यातायात समितिका काउन्टर इन्चार्ज रेब खड्काले गरे । ‘कात्तिकदेखि नै हाम्रो समितिको बसमा यात्रा गर्नेमध्ये ८० प्रतिशत त्यता जाने छन् । दसैंमा जत्तिकै यात्रु चाप छ,’ उनले भने ।
हुल बाँधेर गाउँका अधिकांश युवा रोजगारीका लागि भारत जान थालेपछि गाउँ पुरुषविहीन भएका छन् । तिहारपछि सुरु भएको यो क्रम रोकिने छाँट छैन । ‘मंसिरयता मेरो गाउँबाट मात्रै ५ सय बढी गइसके । कुनै कुनै वडामा त एक जना पनि पुरुष भेटिँदैनन् । कोही मर्दा शव उठाउने मान्छेसम्म छैनन्,’ सुनिकोट गाविसका विष्णु चँदाराले भने, ‘धेरैजसोले परिवार र केटाकेटीसमेत लिएर गएका छन् ।’ अभिभावक छोराछोरीसहित भारत पस्न थालेपछि अधिकांशको पढाइ प्रभावित हुने गरेको छ । आफ्ना दुई स्कुले नातिसहित छोराबुहारीलाई भारत पठाउन बसपार्क पुगेकी सुनिकोट गाविसकै सिन्की चँदाराले भनिन्, ‘गरिबले पढेर के गर्नु हजुर, इन्डिया नगई खान पुग्दैन ।’ 
भारत जानेमा कक्षा १० र उच्च माविमा पढ्ने विद्यार्थी पनि छन् । वैशाखमा परीक्षा दिन आउने गरी जान लागेको ११ कक्षामा अध्ययनरत कैलाश गाविसका गजेन्द्र खड्काले बताए । उनले गाउँकै सय विद्यार्थी गएको जनाए । परिवारसहित गएकाहरू १/२ वर्ष बसेर फर्किन्छन् । विद्यार्थी परीक्षाका बेला फर्किने चलनै छ । खाद्यान्न समस्या टार्न र नुनतेलको जोहो गर्न भारत हिँडेको अधिकांशको भनाइ छ ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home