Tuesday, 9 May 2017

चट्याङ लागेर दुई जनाको मृत्यु, आठ घाइते, पशुचौपाया पनि मरे

ईश्वर तामाङ
उदयपुर/धनकुटा:वर्षासंगै परेको चट्याङ्गले मंगलवार उदयपुरमा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । कटारी नगरपालिका– ११ हर्देनी र गहुबारीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन ।

घरमै बसिरहेको अवस्थामा बिहान पानीसंगै परेको चट्याङ लागेर कटारी–११ गहुँबारी काफलडाँडाका ५५ वर्षिय बलबहादुर बस्नेत र हर्देनीका बिहान चिया पिउदै गर्दा ४७ बर्षिय भेषबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक डिएसपी ओमबहादुर राना मगरले बताए । 

बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको थियो भने खत्री घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेको ईलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ । यस्तै चट्याङ लागेर सोही ठाउँका ३३ वर्षिय कल्पना बस्नेत गम्भिर घाइते भएकी छिन् ।

घाइते कल्पना बस्नेतको कटारी अस्पतालमा उपचार हुन नसकेपछि सघन उपचारका लागि न्यूरो हस्पिटल बिराटननगर लगिएको ईलाका प्रहरी कार्यालय उदयपुरले जनाएको छ । चैत र बैशाखमा मात्र चट्याङ्गले उदयपुरमा ५ जनाको ज्यान गई सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । 

उता,धनकुटा जिल्लाको विभिन्न स्थानमा मंगलबार वर्षातसँगै परेको चट्याङले लागेर आठजना घाइते भएका छन् । घाइते धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चट्याङले पशुसमेत मरेका छन् ।

घाइते हुनेमा छिन्ताङ खाल्सा सहिदभूमि गाउँपालिका ७ का ढकेन्द्र राई, मन्दिरा राई र २ वर्षीय अभिषेक राई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । नाबालक अभिषेकको दुवै अ‘ाखा समेत बन्द रहेको छ भने अन्यको शरीरका विभिन्न भागमा चट्याङले जलेको छ । उनीहरुको गम्भीर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
 
यसैगरी चौबिसे गाउँपालिकाका विभिन्न स्थानमा पनि चट्याङबाट चारजना घाइते भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय राजारानीमा कार्यरत कार्यालय सहयोगी पासाङ दोर्जी शेर्पा, चौबिसे ३ का अजय लिम्बू, भक्तकुमारी लिम्बू, राधिका भण्डारी र गंगाबहादुर लिम्बू घाइते भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक सुदीप राजभण्डारीले जानकारी दिए । यसैगरी गंगाबहादुरको गाईगोरु समेत मरेका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

यसैबीच अविरल वर्षापछि जिल्लामा विद्युत् आपूर्ति समेत बन्द रहेको छ । सुनसरीको चारकोसै जंगलमा विद्युत्मा समस्या उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरण जिल्ला प्रमुख ध्रुव कार्कीले जानकारी दिए ।
 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home