Tuesday, 9 May 2017

आधा खुसी, आधा बेखुसी

त्रिवेणीको तातो हावा उड्दै उड्दै दाउन्ने पुग्दा नारायणीको पानीजस्तो चिसो भइसक्छ । आइतबार दिउँसो दाउन्ने हुँदै त्रिवेणी क्षेत्रको वनकट्टी पुग्दा यो बजार भने आधा तातो, आधा चिसोजस्तो थियो । 
चुनाव प्रचार भइरहेको क्षेत्र राजनीतिको रंगमा घोलिएर तातेको थियो भने अर्कै प्रदेशमा परेको बजारको अर्को खण्ड चुपचाप थियो, चिसो । बजारमा चुनाव प्रचारका लागि धूलो उडाउँदै गुड्ने गाडी र मोटरसाइकल सय डेढ सय जति थिए । यी सबै एउटा पार्टीका त थिएनन् तर यिनको उद्देश्य एउटै थियो, आफ्नो शक्ति देखाउने र मतदाता रिझाउने । वनकट्टी बजार भने यो चुनावले आधा खुसी र आधा बेखुसी थियो । 
बजारको आधा भागका घरमा दलका झन्डा गाडिएका छन्, आधा घर गजुर फुकालेका मन्दिरजस्ता शून्य । प्रदेश चारमा गुड्ने चुनावी गाडीको धूलो र माइकिङको हल्ला प्रदेश पाँचमा उत्तिकै पुगेको छ तर गाविस टुक्रिएकोमा दु:खी स्थानीयहरू रमाएका छैनन् ।
नवलपरासी जिल्लालाई टुक्र्याउँदा साविकको त्रिवेणी सुस्ता गाविसका ८ वटा वडा प्रदेश नम्बर ४ मा परे, वडा नं ४ प्रदेश पाँचमा । वनकट्टीसँगै सीमा विवादका कारण चर्चित सुस्ता क्षेत्र पनि यही वडामा पर्छ । प्रदेश पाँचमा परेको वनकट्टीको केन्द्र अब हुनेछ दाङ । यसका कारण पनि यहाँका बासिन्दा खुसी छैनन् । 
‘हामी त प्रदेशको पुछार भयौं, यहाँदेखि दाङ जानुपर्ने भएपछि प्रदेशले अधिकार नजिकै ल्याएको मान्ने कि खोसेको ?’ ७६ वर्षीय हरिप्रसाद पाण्डेले भने । स्थानीय तह पुन:संरचना आयोगले गरेको सिफारिसमा वनकट्टीलाई टुक्र्याइएको थिएन । 
यो क्षेत्रका त्रिवेणी सुस्ता, रुपौलिया, कुँडिया, नरसरी र पक्लिहवा पाँचवटै साविक गाविस मिलाएर त्रिवेणी सुस्ता गाउँपालिका निर्माण गरिएको थियो, जुन प्रदेश नम्बर ४ मा पथ्र्यो । जिल्ला सदरमुकाम परासी टाढा भएको र सांस्कृतिक रूपमा समेत एकरूपता नभएको भन्दै छुट्टै अस्तित्वको खोजीमा रहेका यो क्षेत्रका मानिसहरू यसले खुसी थिए । पहिलो चरणमा निर्वाचन हुने भएपछि जोडतोडले तयारी सुरु भएको थियो । 
सबै पार्टीले आन्तरिक रूपमा आ–आफ्ना उम्मेदवार तोकिसकेका थिए । तर, उम्मेदवारी दर्ता गर्नेभन्दा दुई दिनअघि मन्त्रिपरिषद्ले प्रदेश ४ को नक्सा परिवर्तन गरिदियो । रुपौलिया, कुँडिया, नरसरी र पक्लिहवा सबै दोस्रो चरणको निर्वाचन कुर्नेमा परे । 
सुस्ता त्रिवेणीका भने साविक आठवटा वडालाई विनयी गाउँपालिकामा मिसाइयो र नयाँ नाम दिइयो, विनयी त्रिवेणी गाउँपालिका । यसका वडा नं ६ र ७ त्रिवेणीका परे, बाँकी गाउँपालिका दाउन्नेको डाँडापारि । विनयी त्रिवेणी गाउँपालिकाको केन्द्र हो, पूर्वपश्चिम राजमार्गमा पर्ने दुम्कीबास । वनकट्टी र रानीनगर क्षेत्रबाट दुम्कीबास ४५ किलोमिटर टाढा छ । बर्दघाट आइपुगेर दाउन्नेको पूरै उकालो छिचोलेपछि आइपुग्ने गाउँपालिका केन्द्र जिल्ला सदरमुकाम परासीभन्दा पनि टाढा पर्छ । 
यताको चुनावमा उताको सहयोग
पुन:संरचना आयोगको सिफारिसलाई मन्त्रिपरिषद्ले परिवर्तन गर्दा यो क्षेत्रको राजनीतिमा पनि केही परिवर्तन आयो । जस्तै, एमालेबाट गाउँपालिकाको अध्यक्ष उम्मेदवार हुने पक्का भएका टेकनारायण उपाध्याय उम्मेदवार भएनन् । कांग्रेसबाट वडाध्यक्ष उठ्ने तयारी गरेका भीमलाल न्यौपानेले एक महिनापछि मात्रै आफ्नो उम्मेदवारी दर्ता गराउन पाउने भए । 
यहाँका बासिन्दाहरू पूरै त्रिवेणी क्षेत्र प्रदेश ४ मा होस् भन्ने चाहन्छन् । आयोगले गरेको सीमांकन सरकारले बदल्न नसक्ने भन्दै चुनावपछि अदालत जाने तयारीसमेत छ । हामी चाहन्छौं, पक्लिहवासम्म नै साविकका पाँचै गाविस प्रदेश चार होस्, यसो भयो भने मात्रै यहाँबाट भारतीय नाका बनाउने उद्देश्य पूरा हुन्छ, टेकनारायण उपाध्यायले भने । 
अहिले सरकारले गरेको सीमांकनअनुसार त्रिवेणी पुल क्षेत्र प्रदेश चारमा पर्छ । तर, पहिले नै नाका र ठूलो सडकले सीमा जोडेको पक्लिहवा प्रदेश ५ मा पर्छ । त्रिवेणी पुलमा यसै त भारतले धेरै वजनका गाडी चल्न दिँदैन, नेपालपट्टि निकुञ्जले सडक खोल्न दिँदैन, अनि नाका भन्सार कसरी बन्छ ? एमालेका स्थानीय नेता रामप्रसाद अर्यालले भने । 
अर्यालको गाउँ प्रदेश ५ मा पर्छ । तर, उनी पार्टीको क्षेत्रीय अध्यक्ष भएकाले प्रदेश ४ मा पार्टीलाई सघाउन प्रचारमा आएका छन् । अहिले हामी यता आएका छौं, भोलि हाम्रोमा चुनाव हुँदा यताका साथीले हामीलाई सहयोग गर्नुहुन्छ भने । कांग्रेस र राप्रपाका पनि सुस्ता गाउँपालिकाका कार्यकर्ताले विनयी त्रिवेणीको चुनावमा मद्दत गरिरहेका छन् । 
नाका र भन्सारको सम्भावना
नजिकै भए पनि त्रिवेणी बिहारसँग र पक्लिहवा उत्तरप्रदेशसँग जोडिएका छन् । यी दुवै नाका प्रदेश चारमा पार्दा भारतका दुई राज्य जोडिने र उत्तरमा चीन पनि जोडिने स्थानीयहरू बताउँछन् । तर सरकारले रुष्ट मधेसी पार्टीलाई मनाउने नाममा पक्लिहवालाई अर्को प्रदेशमा पारेर प्रदेश चारको नाकाको सम्भावनालाई कमजोर बनाएको उनीहरू बताउँछन् ।
नवलपरासी जिल्लालाई टुक्र्याउनु पछाडिको तर्क प्रदेश चारलाई भारतसँग जोड्नु हो । लुम्बिनी अञ्चलका सबै जिल्ला प्रदेश पाँचमा पर्छन् । तर तनहुँसँग सीमा जोडिएको नवलपरासीको गैंडाकोट, रजहर, कावासोतीलगायतका भागलाई प्रदेश चारमा राखिएको छ भने सदरमुकाम परासी क्षेत्र प्रदेश ५ मा । त्रिवेणी क्षेत्र पुग्नका लागि दुम्कीबासबाट अर्को बाटो पनि खोलिएको छ । 
अहिलेको बाटोभन्दा आधा (२२ किलोमिटर) लम्बाइको यो बाटोमा केहीअघि ट्याक खोलिएको थियो । तर, मध्यवर्ती क्षेत्रमा बाटो पर्ने भनेर निकुञ्जले बाटो रोकिदियो । यसपालि यहाँका दुई वडाका प्राय: सबै उम्मदेवारको एजेन्डा यो बाटो खुलाउने छ । विनयी त्रिवेणीको वडा नम्बर ६ को साहुमारामा आइतबार कांग्रेस, एमाले, राप्रपा र जनमुक्ति पार्टीले घरदैलो कार्यक्रम गरे । २०३६ सालमा सुस्ताको बाढीले विस्थापित बनाएकालाई यहाँ ल्याइएको थियो । 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home