Wednesday, 14 June 2017

‘रुवीभ्याली’ गीति एल्बम विमोचन

काठमाडौँ, ३१ जेठ । धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम रुवीभ्यालीको आज विमोचन गरिएको छ ।

गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिनुभएको छ ।

नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रुवीभ्यालीलाई नेपालकै गौरव गर्नसक्ने भ्यालीका रुपमा विकास गर्नुपर्छ ।

अध्यक्ष वाग्लेले मुलुकको पहिचान राजनीतिले भन्दा पनि भाषा, संस्कृति र संस्कारले हुने बताउँदै यसको विकासका लागि गीति एल्बमले महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो ।

राससका समाचार प्रमुख सूर्यचन्द्र बस्नेतले गणेश हिमालको काखमा रहेको रुवीभ्यालीको संरक्षण र सम्बद्र्धन गरी पर्यटकको उत्कृष्ट गन्तव्यको रुपमा विकास गर्नु जरुरी रहेको छ भन्नुभयो ।

पर्यटन व्यवसायी एवम् काँग्रेस धादिङका नेता कुलबहादुर गुरुङले अथाह सम्भावना बोकेको रुवीभ्यालीलाई देशकै नमुना भ्यालीको रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेकपा (एमाले) धादिङका नेता रेशम तामाङले गीति एल्बमले रुवीभ्याली क्षेत्रको बारेमा यथार्थ चित्रण गरेको छ भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र) धादिङका नेता रामसिंह तामाङले तामाङ समुदायको अत्याधिक बाहुल्यता रहेको रुवीभ्याली र तामाङ जातिको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन जरुरी रहेको बताउनुभयो ।

नयाँ गन्तव्य नेपालका अध्यक्ष ग्यालवाङ तामाङ, नेपाल तामाङ सङ्घ धादिङका अध्यक्ष फेलामा तामाङ, नेविसङ्घ धादिङका नेता डेभिड घलेलगायतले रुवीभ्यालीको विकासका लागि राजनीतिक दलभन्दा बाहिर रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

समुद्र सतहदेखि एक हजार ९०० मिटरदेखि सात हजार मिटर उचाइसम्म रहेको रुवीभ्याली सेर्तुङ, तिप्लिङ र लापा गाविस मिलेर बनेको छ ।


पर्यटकीय क्षेत्रका रुपमा रहेको रुवीभ्यालीमा रातो ढुङ्गा (रुवी), यार्सागुम्बा, फलामखानी रहेको छ भने प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको छ । रासस 

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home