कारागारको बसाई जोखिमयुक्त
बर्दिवास, ३१ जेठ । जीर्ण अवस्थामा
रहेका महोत्तरी कारागारका कैदीबन्दीले आफूहरूको कारागार बसाई जोखिमयुक्त रहेको
गुनासो गरेका छन् ।
आफूहरूलाई राखिएको भवन अति
जीर्ण भएकाले जुनसुकै बेला ढल्न सक्ने हुँदा बसाइ जोखिमयुक्त बनेको कैदीबन्दीले
गुनासो व्यक्त गरेका छन् । विसं १९१३ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर
राणाले निर्माण गराएका कारागार भवन त्यसयता मर्मतसम्भार नहुँदा दिनदिनै भित्ता र
छत उप्किएर झर्ने क्रम बढेको कैदीबन्दीले बताएका छन् ।
दैनिकजसो भवनको भित्ता तथा
छतका इँटा र सिमेन्टका टुक्रा उप्किएर झर्दा यही पुरिन्छ कि भन्ने डर लाग्ने गरेको
महिला कक्षकी कैदी ललिता सिंहले बताउनुभयो ।
यसैगरी कारागारका चौकीदारसमेत
रहेका पुरुष कक्षका कैदी श्रीनारायण महतोले जीर्ण भवनको बसाई प्रत्येक पल डरलाग्दो
भएको बताउनुभयो । पुरुष र महिलाका लागि छुट्टाछुट्टै कक्ष रहेको कारागारमा जम्मा १३५
कैदीबन्दी राख्ने क्षमता छ । तर पछिल्लो डेढ दशकयता कारागारमा सधैँजसो ४०० को
हाराहारीमा कैदीबन्दी रहँदै आएको कारागार प्रशासनले जनाएको छ ।
अहिले महिलाकक्षमा पाँच
आश्रित बालबालिकासहित ३९ र पुरुषकक्षमा ३७२ गरी ४०१ कैदीबन्दी रहेको कारागार
प्रमुख शोभेन्द्र ठाकुरले जानकारी दिनुभयो ।
जम्मा कैदीबन्दीमध्ये ६० प्रतिशतभन्दा
बढी धनुषा जिल्लाका रहेका छन् । धनुषामा कारागार नभएकाले त्यहाँका न्यायिक निकायले
यहाँ पठाउने भएका कारण यो कारागारमा कैदीबन्दीको चाप बढेको कारागार प्रमुख ठाकुरले
बताउनुभयो ।
पुरानो जीर्ण भवनमा कैदी
थुनुवा राख्नु जोखिमयुक्त रहेको स्वीकार गर्दै कारागार प्रमुख ठाकुरले अब पुरानो
भवन टालटुल गरेर समस्या समाधान नहुने भएकाले नयाँ कारागार भवन बनाउन आवश्यक भएको
बताउनुभयो ।
यो कुरा आफूले जिल्लास्थित स्थानीय
प्रशासन, कारागार
व्यवस्था विभाग र सम्बद्ध अन्य निकायमा जानकारी गराएको कारागार प्रमुख ठाकुरले
बताउनुभयो । रासस
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home