Wednesday, 14 June 2017

प्रचार सामग्री नहटाउँदा नगर बन्यो कुरुप

        भक्तपुर, ३१ जेठ । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेको छ ।

     पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरूले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।

     जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा दलहरूका निर्वाचन सामग्रीले अझै रङ्गिएका छन् । निर्वाचन आचारसंहितामै निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था गरिए पनि दलका नेताले भने यसको कार्यान्वयन गरेका छैनन् ।

     जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले निर्वाचन सकिएलगत्तै त्यस्ता निर्वाचन सामग्री दलहरूले हटाउनु पर्ने आचारसंहिता रहेको स्पष्ट पार्नुभयो । आचारसंहिताअनुरुप काम नगर्दा निर्वाचन सामग्री रहेको उहाँले बताउनुभयो ।


     दलहरूले निर्वाचनका लागि राखेको ब्यानर, तुल, फ्लेक्स, निर्वाचन चिह्न र पार्टीका झन्डा अझै पनि टोलटोल, गल्लीगल्ली र एतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाका भित्ताभित्तामा टाँसिएर राख्दा नगर कुरुप बनेको हो । यसबारे विभिन्न दलका नेताहरूले केही दिनभित्रै त्यस्ता प्रचार सामग्री हटाउँला भन्ने जवाफ दिएका छन् । रासस

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home