Thursday, 11 May 2017

रसुवागढी नाका बन्द भएपछि चिनियाँ भू-भागमा नेपाली अलपत्र


वैशाख २८, २०७४- आइतबार हुन गइरहेको स्थानीय तह चुनावका लागि रसुवागढी नाका सिल गर्दा ४० जना नेपाली चीनको रेसुओपोर्टमा अलपत्र परेका छन् । 
सामान लिन चीनको केरुङ गएका स्थानीय चालक, स्थानीयवासी, सहचालक र व्यापारी गरी ४० जना चीनको भू-भागमा थुनिएको कालिका गाउँपालिकाका स्थानीय व्यापारी मुकुन्द पौडेलले फोनमा जानकारी दिए । ‘उता ४० जना थुनिएका छन्,’ उनले भने,‘चुनाव आइसक्यो । झर्दै गर्दा थुनिए । भोट खेर जाने भो ।’ प्रहरी र स्थानीय प्रशासनले आफ्ना नागरिक के कति छ भनेर सोधखोज र जानकारी नदिई बोर्डर सिल गरेको प्रति आक्रोश पोखेका छन् । एक व्यापारीले भने,‘कुनै जानकारीबिना बोर्डर सिल गरेर हुन्छ ?’यस विषयमा रसुवा भन्सार कार्यालय प्रमुख केदार पनेरुले आफूलाई कुनै जानकारी नभएको बताए । 
चीनले रसुवागढीदेखि १२ किलोमिटर भू-भागमा वैकल्पिक सडक ट्याक निर्माणको काम केही समय थाती राखेर पुन: नेपाली कन्टेनरलाई चीनको भू-भाग केरुङ सामान लिन जान दिएको थियो । दैनिक १५—२० वटा कन्टेनर चीनको केरुङभन्दा ५ किमि क्षेत्र पाङसिङबाट सामान लोड अनलोड गरी आयात गर्दै आएका थिए । बोर्डर सिल भएपछि चीनको केरुङमा रहेका डेढसय कन्टेनरलाई समेत असर पुगेको छ । चीनबाट फलफूल, व्लाङ्केट, थर्मस, ईलोक्ट्रानिक सामान, सिरक, जिम्बु, खेलौना, तयारी लुगा, ज्याकेट, व्याग, जुत्ता, चप्पललगायत आयात हुने गरेको छ भने यहाँबाट चिउरा, सख्खर, वनस्पति घिउ, खुर्सानी, आङका, क्यूरियो सामान लगायत निर्यात हुने गरेको छ । 
बुधबार रातिबाट रसुवागढीको बोर्डर सिल
स्थानीय प्रशासनले निर्वाचन हुनभन्दा ७२ घण्टा अगाडि रसुवाको बोर्डर सिल गरेको जनाएको छ । बोर्डर सिल गराउन दुई दिनअघि चीनको केरुङमा बैठक बसेको थियो । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेसहित सुरक्षा टोलीले जिलोङ काउन्टीका चिनियाँ सहायक प्रशासनिक अधिकारी, भन्सार प्रमुख, क्वारेन्टाइन, अध्यागमन, सीमा प्रमुखहरुबीच बैठक गरी चुनावसम्म बोर्डर बन्द गराउन सहमत भएका थिए । प्रजिअ न्यौपानेले छलफल गरी बोर्डर सिल गरिएको बताए । चुनाव सकिएको राति १२ बजेसम्म ९६ घण्टा नाका बन्द हुने प्रजिअ न्यौपानेले बताए ।  

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home