आज २५६१ औं बुद्ध जयन्ती मनाइँदै
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभयो । छ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा इसापूर्व ५२८ मा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा उहाँले विश्व प्रसिद्धि पाउनुभयो । ३६ वर्षको उमेरमा सारनाथमा उहाँले पहिलोपटक पाँचजना शिष्यलाई प्रवचन गर्नुभएको बौद्ध दर्शनको खोज–अनुसन्धानमा लाग्नुभएका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताउनुभयो । यस अवसरमा देशका विभिन्न स्थानमा बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरि एवम् शोभा यात्रा निकालिन्छ । वुद्ध यजन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६१औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्रीले आज एक शुभकामना सन्देश दिनुहुँदै “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान हो भन्नुभएको छ ।” मुलुकको बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मान एवम् सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेको बताउँदै उहाँले जनताको लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै संविधानको सफल कार्यान्वयनका लागि देश अहिले स्थानीय निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो ।
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home