Wednesday, 10 May 2017

चुनावी तालमेलप्रति व्यंग्य गर्दै ओलीले भने, 'देउवा र प्रचण्ड एउटै जुवामा'


एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालको तालमेल र गठबन्धनप्रति कटाक्ष गरेका छन् । एमाले प्रचार विभागले बुधबार राजधानीमा गरेको प्रचार भेलामा ओलीले चितवनमा भएको चुनावी तालमेलप्रति व्यंग्य गर्दै भने, ‘कहिले टाउकोको मोल तोक्ने, कहिले छोरी बोक्ने’।
‘भोलि देउवा र प्रचण्ड एउटै जुवामा नारिएर चितवन जाँदैछन् भन्ने सुनेको छु । एउटै जुवामा कसले नारिदियो, त्यो त भन्नै परेन’, उनले दुई फरक धारका दलबीचको सहकार्यप्रति व्यंग्य गर्दै भने–‘एउटै जुवामा नारिएर गएपछि जनताले पनि थाहा पाउनेछन् । यिनले जोत्ने खेत एकै रहेछ । मेलो एकै रहेछ  ।’
एक वर्षअघि आफ्नो नेतृत्वको सरकारले रेलको कुरा गर्दा अरुले मजाक गरेको तर अहिले तिनै दलका घोषणापत्रमा रेलको कुरा देख्दा आफूलाई खुसी लागेको पनि उनले सुनाए । ‘हामीले रेल बनाउँछौ भन्यौं । काठमाडौंमा केहीले खेलौना नै तयार गरे । मजाक गरे । अहिले त भाषणमा पनि रेल नै घोषणापत्रमा पनि रेलकै कुरा सुन्दैछु’, ओलीले एमालेको अन्य पार्टीसँग तुलनै नहुने दाबी गर्दै भने–‘एक वर्षअघि रेल मजाक थियो । अहिले सबैलाई चाहिएको छ ।’
एमालेलाई छाडेर किन अरु पार्टीलाई भोट दिने भन्नेमा मै हुँ भन्ने वक्ताले पनि तर्क गर्न नसक्ने अवस्था रहेको भन्दै उनले रमाइलो पाराले सुनाए । ‘कोही सिद्धहस्त वक्तृत्वकलावाज आउन् र तिनले अरु पार्टीलाई किन भोट दिने र एमालेलाई किन नदिने भन्नेमा बहस गरुन् । हामी खुला आमन्त्रण गर्छौं । रेडियो, टेलिभिजनमा बहस लाइभ सुनौं’, आफ्नै शैलीमा यसपटक आफ्नो पार्टी एमालेको प्रतिस्पर्धी नभएको तर्क गर्दै ओलीले दाबी गरे–‘मलाई लाग्छ, कसैले दरखास्त हाल्नेवाला छैन । किनभने एमालेबाहेकका राजनीतिक दलहरुले जनताको मन जित्ने हैसियत गुमाइसकेका छन् ।’
कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका सहइन्चार्ज सूर्य थापाले अन्य पार्टीका नेताहरु कोही छोरी, कोही दाइ र कोही ज्वाँइका लागि चुनाव जिताउन लागेको भन्दै नातावादको विरोध गरेका थिए । ‘एमालेले जनताको छोराछोरीलाई उठाएको छ । तिनैले जित्नेछन्’, थापाले भने ।

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home