Thursday, 11 May 2017

परीक्षा बोर्डको नियन्त्रकमा बतास नियुक्त, अर्यालविरुद्धको छानविन प्रतिवेदन तयार


काठमाडौं, वैशाख २८ – राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रकमा डम्बर कुमार बतासलाई नियुक्त गरेको छ । कक्षा ११ को परीक्षा सुरु हुन लाग्दा बोर्ड बैठकले दुई सातापछि परीक्षा नियन्त्रकमा बतासलाई नियुक्त गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिनुभयो । 
यसअघि कक्षा १२ को परीक्षा चलिरहेका बेला प्रश्नपत्र छपाई र वितरणमा लापरबाही गरेको भन्दै तत्कालीन परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेबारीबाट हटाएको थियो ।
त्यसपछि बोर्डले जयन्ती सत्याललाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिएर वैशाख २२ गते कक्षा १२ को परीक्षा सम्पन्न गरेको हो । चुनावका कारण जेठबाट सुरु गर्ने भनिएको परीक्षा मिति सारिएपनि फेरि दोश्रो चरणको चुनावले गर्दा कक्षा ११ को परीक्षा पनि सर्न सक्ने बोर्डले जनाएको छ । 

अर्यालविरुद्धको छानविन प्रतिवेदन तयार

कक्षा १२ को प्रश्नपत्र थोरै छपाएर लापरबाही पूर्ण काम गरेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा चलिरहेकै बेला तत्कालीन परीक्षा नियन्त्रक सन्तोष अर्याललाई जिम्मेवारीबाट हटाएको थियो । अर्यालको गैरजिम्मेवारीबारेमा शिक्षा मन्त्रालयले सहसचिव डा. हरि लम्सालको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेर अनुसन्धान अगाडि बढाएको थियो । 
समितिले पाएको एकहप्ताको अवधिभित्र छानबिन गरेर प्रतिवेदन शिक्षामन्त्री धनिराम पौडेललाई बुझाइएको लम्सालले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले प्रतिवेदन कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई सिफारिस गरेको छ ।  तर बोर्डका सदस्य सचिव रिमालका अनुसार प्रतिवेदन अहिलेसम्म कार्यान्वयनमा आएको छैन । उहाँले एक दुई दिनमा प्रतिवेदन खोलेर हेर्ने जानकारी दिनुभयो ।
‘प्रतिवेदन आएको छ । तर खोलेर हेरेका छैनौँ । अब एक दुई दिनभित्र हेरेर कार्यान्वयन गर्नेछौँ ।’ उहाँले भन्नुभयो । तर प्रतिवेदन पेश भएको एक हप्ता बितिसक्दा पनि बोर्डले कार्यान्वयनमा ल्याएको छैन । वैशाख १३ गते अर्याललाई जिम्मेवारीबाट हटाएर मन्त्रालयले छानविन अगाडि बढाएको थियो । 
छानविन समितिले पाएको हप्ता दिनभित्र अनुसन्धान गरी वैशाख २१ गते नै प्रतिवेदन बुझाएको समिति संयोजक लम्सालले जानकारी दिनुभयो । 

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home