सप्तकोसीमा बाढीको बहाव वर्षकै उच्च, ब्यारेजका ३३ ढोका खोलिए
इटहरी, साउन ८ । पूर्वी पहाडी क्षेत्रमा केहीदिनदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव शनिबार यो वर्षकै उच्च मापन गरिएको छ ।
शनिबार साँझ ५ बजे कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकन्ड दुई लाख ५० हजार २५२ क्युसेक मापन गरिएको छ ।
कोसी नदीमा बाढीको बहाव शनिबार बिहानदेखि नै निरन्तर बढिरहेकाले अहिले साँझ ब्यारेजका ३३ ओटा ढोका खोलिएका छन् । शुक्रबार ब्यारेजका २९ ढोका खोलिएका थिए ।
कोसीमा पानीको बहाव प्रतिसेकन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।
२०६५ साल भदौ ५ गते कोसी नदीको पूर्वी तटबन्ध फुट्दा कोसीको बहाव प्रतिसेकेन्ड दुई लाख ६५ हजार क्युसेक रहेको थियो ।
यसैबीच, कोसीको बाढीले सुनसरीको दक्षिणी भाग कप्तानगन्ज गाविसका वडा नम्बर–५, ६, ७ र ८ र तनमुना गाविसको वडा नम्बर–२ को मुसहर बस्ती पनि डुबानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले जानकारी दिए ।
यसैबीच, भारतको बिहारसँग सीमा जोडिएको कोसी ब्यारेज क्षेत्रमा उच्चसुरक्षा सतर्कता अपनाइएको छ ।
प्रजिअ चापागाइँकाअनुसार उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उच्चसतर्कतासहित यात्रुको जाँचमा कडाइ गरेको छ ।
भारत विहारको सुपोल जिल्लाका डिस्ट्रिक्ट मेजिस्ट्रेटले सुनसरी र मोरङ जिल्ला प्रशासन कार्यालयलाई उच्चसतर्कता अपनाउन पत्र पठाएपछि सुरक्षा सतर्कता बढाइएको उनले जानकारी दिए । रासस
Labels: NEWS
0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home