Thursday, 11 May 2017

चुनाव प्रचारप्रसारको अन्तिम दिन आज

निर्वाचन आयोग
बिहीबार मध्यरातपछि शुरु हुने मौनअवधिमा प्रचारप्रसार गरेको पाइएमा एक लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी रद्धसम्म गर्न सकिने भन्दै निर्वाचन आयोगले सचेत गराएको छ।
बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको प्रचारप्रसार गर्न बिहीबार अन्तिम दिन हो।
मौन अवधिमा सामाजिक सञ्जालमार्फत गरिने प्रचारप्रसार समेत विशेष निगरानी गर्ने आयोगले जनाएको छ।

कारबाही

मौन अवधिमा कुनै पनि माध्यमद्वारा कुनै उम्मेदवार वा राजनीतिक दलले भोट माग्ने काम गरेको फेला परेमा उनीहरुलाई निर्वाचन आयोग ऐन र निर्वाचन कसुर ऐन अनुसार कारबाही हुने निर्वाचन आयोगले बताएको छ।
निर्वाचन आयोगकी एक आयुक्त इला शर्माले भनिन्, "निर्वाचन कसुर सजाय ऐन अनुसार निर्वाचन अधिकृत वा अनुगमनकर्ताहरुले चुनाव प्रचारप्रसार गरेको देखे तुरुन्तै २५ हजार जरिवाना गर्न सक्छन्। त्यस्तै निर्वाचन आयोग ऐन अनुसार एक लाखसम्म जरिवाना तथा उम्मेदवारी समेत खारेज हुनसक्छ"।
आयोगका अनुसार मौन अवधि लागू भएपछि मदतान केन्द्रको ३०० मिटर वरपर प्रचारप्रसारका लागि राखिएका सामाग्री उम्मेदवारले हटाइसक्नु पर्नेछ।
निर्वाचन आयोग

अनुगमन

आयुक्त इला शर्माले भनिन्, "२०७० सालमा सामाजिक सञ्जालको त्यत्ति अनुगमन गरिएको थिएन तर यसपटक हामी बढी अनुगमन गर्नेछौं"।
शर्माले रेडियो वा टेलिभिजन, घर दैलो कार्यक्रम तथा सामाजिक सञ्जाल कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न नपाइने प्रष्ट पारिन्।
औपचारिक रुपमा यस अवधिलाई मौन भनिएपनि राजनीतिक दल र उम्मेदवारले अन्तिम चुनावी रणनीति तय गर्ने अवसरको रुपमा यो समयलाई उपयोग गर्ने गरेको जानकारहरु बताउँछन्।BBC

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home