Tuesday, 30 August 2016

के के गर्‍यो ९ महिनामा पुनर्निर्माण प्राधिकरणले ?

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितलाई अहिलेसम्म १० अर्व २ करोड ३६ लाख रुपैयाँ निजी घर निर्माणको लागि दिएको छ ।

व्यवस्थापिका–संसदको विकास समितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले दिएको जानकारी अनुसार सोमबारसम्ममा प्राधिकरणले ३ लाख ९४ हजार ९ सय १५ भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरेको छ । त्यसमध्ये २ लाख ४ सय ७२ को खातामा पहिलो किस्ता भुक्तानी गैसकेको हो । सरकारले पहिलो किस्तामा ५० हजार रुपैयाँका दरले भूकम्प प्रभावितलाई रकम दिएको छ । बैठकमा सांसदहरुले अनुदान सम्झौता गरेर रकम दिंदैमा नहुँने भन्दै अवका चुनौतीको पनि पूर्वतयारी गर्न सुझाव दिएका छन् । घर निर्माण सामग्री र आवश्यक जनशक्तिको व्यवस्थामा सासंदले प्रश्न उठाएका थिए । बैठकले भूकम्प प्रभावितलाई आवास निर्माणका लागि आवश्यक सामग्री अभाव हुन नदिन सरकार र प्राधिकरणलाई कार्ययोजना बनाउन निर्देशन समेत दिएको छ । समितिका सभापति रविन्द्र अधिकारीले आवश्यक सामग्रीको माग र स्रोतको व्यवस्था मिलाउने गरी काम गर्न निर्देशन दिनुभएको हो । 
विकास समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रस्तुत गरेको विवरण यस्तो छ । 

अनुदान सम्झौता तथा निजी आवास पुनर्निर्माण

१) २०७३ साल भदौ १३ गतेसम्म ३ लाख ९४ हजार ९ सय १५ घरधनीसँग अनुदान सम्झौता । ११ जिल्लामा अनुदान सम्झौता गर्ने काम जारी ।  
२) सरकारको निर्णय अनुसार असोज २ गतेभित्र भूकम्प पीडित लाभग्राहीलाई घर पुनर्निर्माणका लागि उपलब्ध गराइने अनुदान सहयोगको पहिलो किस्ता रकम प्रदान गर्नका लागि प्राधिकरणद्वारा साउन ३१ गतेदेखि विशेष अभियान सञ्चालन । 
३) भदौ १३ गतेसम्म २ लाख ४ सय ७२ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रुपैयाँका दरले १० अर्ब २ करोड ३६ लाख जम्मा । बैंक खातामा घरधनीको रकम जम्मा हुने क्रम जारी । 
४) भूकम्प प्रभावित जिल्लामा घर पुनर्निर्माण जारी रहेको । र पहिलो किस्ताको अनुदान वितरण भइसक्ने भएकाले वर्षातको समयपछि घर पुनर्निर्माण द्रुत गतिमा अघि बढ्ने । 
५) निजी आवास पुनर्निर्माणका लागि साउन १२ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई १९ अर्ब ३३ करोड ९ हजार १ सय ५० रुपैयाँ निकासा गरिएको । 
६) बुढीगण्डकी आयोजना अन्तर्गत डुबान क्षेत्रमा पर्ने लाभग्राही घरधनीलाई अस्थायी आवास निर्माण गर्नका लागि दुई लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने निर्णय भएको । 

उपत्यकामा सर्भेक्षण

१) उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ १३ गतेसम्म ६३ हजार ६ सय ३ घरपरिवारको सर्भेक्षण । छिट्टै अनुदान सम्झौता गर्ने तयारी । 
२) भूकम्प प्रभावित १७ जिल्लामा सर्भेक्षण गर्ने तयारी अघि बढाइएको । 

बस्ती स्थानान्तरण

१) जोखिमयुक्त १ सय १७ क्षेत्रको अध्ययन सम्पन्न भइसकेको र त्यसमध्ये ५६ वटा बस्ती स्थानान्तरणका लागि एकीकृत बस्ती निर्माण अध्ययन कार्य अघि बढाइएको । 

सामूहिक आवास निर्माण

१) नेपाली सेनामार्फत ३६ र सहरी विकास मन्त्रालयमार्फत ४६ गरी भूकम्प अतिप्रभावित जिल्लामा ८२ वटा सामूहिक आवासकोे निर्माण गरिएको ।  

गुनासो व्यवस्थापन

१) भदौ १३ गतेसम्म १ लाख ५८ हजार ४ सय ६६ गुनासा दर्ता भएका । त्यसमध्ये कतिपय गुनासाको गाउँ र जिल्ला स्तरमा सुनुवाई भइसकेको । केन्द्रमा पनि गुनासो सुनुवाई जारी रहेको । 

पुरातात्विक सम्पदा पुनर्निर्माण 

१) ४९ वटा पुरातात्विक आयोजनाको निर्माण प्रकृया अघि बढेको । 
२) रानीपोखरी, पाटनको मणिमण्डप, कृष्ण मन्दिर, स्वयम्भुको अनन्तपुर, भक्तपुरको फसिदेग, हनुमान ढोकाको वंशगोपाल, बौद्ध स्तुपा, साँखुको बज्रयोगिनी लगायतका पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्य भइरहेको । 
३) धरहराको प्रराम्भिक डिजाइन तयार भई सार्वजनिक गरिएको । 
४) परम्परागत बस्तीको मापदण्डको मस्यौदा तयार भई निर्णय प्रक्रियामा रहेको । 

शैक्षिक संस्था 

१) १२ सय विद्यालय सम्बद्ध व्यवस्थापन समिति मार्फत पुनर्निर्माण गर्ने गरी प्रकृया अघि बढाइएको ।  
२) एडीबी र जाइकामार्फत ६ सय विद्यालय पुनर्निर्माणका लागि प्रक्रिया अघि बढाइएको । जसमध्ये ६२ विद्यालय निर्माणका लागि टेण्डर प्रक्रिया भई निर्माण कार्य अघि बढाइएको । 
३) करिव पाँच सय विद्यालय निर्माणका लागि विभिन्न संघसंस्थासँग सम्झौता भएको । 

स्वास्थ्य क्षेत्र

१) प्रिफेब्रीकेटेड संरचनामा १०० वटा स्वास्थ्य केन्द्रको निर्माण सम्पन्न । अन्य सयको निर्माण कार्य जारी । 
२) ४ सय ४४ स्वास्थ्य केन्द्र तथा वीर अस्पताल, प्रसुति गृह लगायतका अस्पताल निर्माणका लागि विभिन्न संघ संस्थासँग सम्झौता भएको । 

सार्वजनिक भवन

१) नेपाली सेनाको मुख्यालय सहित २१ वटा भवनको निर्माण जारी रहेको । १०८८ वटा व्यारेक⁄भवनका लागि डिजाइन जारी रहेको ।  
२) भूकम्पबाट क्षति पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको भवनको डिजाइन कार्य भइरहेको । 
३) सर्वाेच्च अदालत लगायतका भवन पुनर्निर्माण भइरहेको । 
४) भूकम्पबाट क्षति पुगेका जिल्ला विकास समिति, गाउँ विकास समिति र नगरपालिकामा अस्थायी व्यवस्थाका लागि बजेट विनियोजन गरिएको । 

जनशक्ति 

१) राष्ट्रिय पुनर्निर्माण प्राधिरकण– १२५
२) सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई– २७२६
३) संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई–४७६
४) संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई–८३
५) शिक्षा मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाई–१६८

बजेट तथा वैदेशिक सहयोग

१) नेपाल सरकारद्वारा चालु आर्थिक वर्षका लागि १ खर्ब ६८ अर्ब विनियोजन ।  
२) १ खर्ब ८३ अर्ब रुपैयाँ बराबरको वैदेशिक वित्तीय सहयोग सम्झौता । थप ८५ अर्ब रुपैयाँ बराबरको वित्तीय सहयोग सम्बन्धी सम्झौता अन्तिम चरणमा । यो सहित अन्तर्राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको सहयोग प्रतिबद्धता रकम करिव ३ सय ५० अर्ब मध्ये करिव ८० प्रतिशत रकमका लागि सहमति प्राप्त भइसकेको । 

चुनौती तथा तात्कालिक कार्ययोजना

१) सामुदायिक समितिको गठन
२) निर्माणकर्मीको उत्पादन
३) निर्माण सामग्रीको उपलब्धता
४) निर्माण सामग्रीको ढुवानी
५) विभिन्न निकायबीच समन्वय
६) एकीकृत बस्ती विकास
७) जग्गा सम्बन्धी मुद्दाहरु
८) जीवीकोपार्जन
९) आर्थिक स्रोतको व्यवस्थापन
१०) घर निर्माणको प्रविधिको हस्तान्तरण
११) शाखा रहित बैंकिङ सेवा, घुम्ति बैकिङ सेवा र सहुलियत ऋण
१२) दक्ष जनशक्ति र मुल्यांकन पद्धति
१३) संस्थागत संरचना
१४) इन्टरनेट कनेक्टिभिटी
१५) अनुगमन 
१६) भूकम्प प्रतिरोधी संरचना सम्बन्धी सचेतना
१७) स्थानीय निर्माण सामग्रीको प्रयोग
१८) जिल्ला समन्वय समितिको सक्रियता
१९) सरकार र राजनीतिक दलको प्रतिबद्धता
२०) पुनर्निर्माणमा स्वामित्व र धैर्यता

Labels:

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home