Tuesday, 30 August 2016

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने : अर्थमन्त्री


काठमाडौं, भदौ १४ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताउनुभएको छ । 
अर्थमन्त्री महराले काठमाडौंमा मंगलबार आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताउनुभयो । 
राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उहाँले भन्नुभयो, ‘अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन । अब राजनीतिक पूर्वाग्रह राखिन्न ।’
सरकारको मुख्य काम संविधान कार्यान्वयन भएको स्पष्ट गर्दै अर्थमन्त्री महराले संविधानमा अधिकतम सहमति गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भूकम्पपछिको पुनःनिर्माणलाई द्रुतगतिमा अगाडि बढाउने विश्वास दिलाउनुभयो । 
अर्थमन्त्री महराले आर्थिक क्षेत्रसँग सम्बन्धित सबै ऐन तथा कानुनलाई अगाडि बढाउन आफूले पहल गर्ने बताउँदै अभिसन्धि ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई अगाडि बढाउने जानकारी दिनुभयो । 
उहाँले आफू मन्त्री भएपछि युवा उद्यमी छान्ने कार्य, बजेट कार्यान्वयनका लागि योजना र राजस्वको आधुनिकीकरणसम्बन्धी निर्णय गरेको जानकारी दिनुभयो । 
अर्थमन्त्री महराले स्थानीय निकाय, प्रान्त र केन्द्रको निर्वाचन गरेपछिमात्र संविधान कार्यान्वयन तथा शान्ति प्रक्रियाका बाँकी काम सापेक्षित रुपमा अन्त्यतिर पुग्ने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिएको बिचारव्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सङ्क्रमणकालको अन्तिम अवस्थामा छौँ तीन वटा निर्वाचन गरेपछिमात्र केही स्थिरता आउँछ, यो नै यथार्थ हो ।’ रासस

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home